काठमाडौं। जर्मन प्राविधिक सहयोग संस्था (जीआईजेड) ले नवीकरणीय ऊर्जामा ६० लाख युरो (करिब ८६ करोड रुपैयाँ) सहयोग गर्ने भएको छ ।
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय र जीआईजेडबीच शुक्रबार नवीकरणीय ऊर्जा तथा ऊर्जा दक्षता कार्यक्रम–नेपालमा दिगो ऊर्जा मार्फत पुनर्प्राप्ति एवं सशक्तिकरण (रिप–ग्रन) कार्यक्रमको दोस्रो संशोधनमा हस्ताक्षर भएको हो ।
यसअघि गत वर्ष सन् २०२४ को जनवरीमा यसम्बन्धमा नेपाल र जर्मनीबीच प्राविधक सहयोग सम्झौता भएकोमा अहिले भएको सम्झौताले त्यसलाई औपचारिकता प्रदान गरेको जनाइएको छ ।
यस परियोजनाको प्रमुख उद्देश्य नेपालमा नवीकरणीय ऊर्जा र ऊर्जा दक्षताका पहलहरूलाई प्रवर्द्धन गर्न आवश्यक पर्ने नियामक, संस्थागत संरचना तथा नीजि क्षेत्रको सहभागिताका लागि उपयुक्त अवस्था सिर्जना गर्नु र ऊर्जाको दिगो उपयोग तथा उत्पादनलाई बढावा दिनुरहेको जनाइएको छ ।