काठमाडौं । बरुण बेभरेजले सोलार प्लान्टबाट २ मेगावाट सौर्य ऊर्जा उत्पादन गरेको छ। पश्चिम नवलपरासीको रामग्राम नगरपालिका–१० परासीस्थित उद्योगमा सोलार प्लान्टबाट उत्पादन भएको थालिएको हो।
११ करोड रुपैयाँ लागतको आयोजनाको शुक्रबार उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले उद्घाटन गरे ।
उद्घाटनका क्रममा मन्त्री भण्डारीले निजी क्षेत्रलाई प्रोत्साहित गर्ने गरी सरकारले ऐन कानुन सुधार गर्दै आन्तरिक तथा वाह्य लगानी आकर्षणका लागि लगानीमैत्री वातावरण बनाउन सरकार प्रतिबद्ध रहेको बताए ।
नवीकरणीय सौर्य ऊर्जाले वातावरण संरक्षण र आत्मनिर्भर औद्योगिक विकासका लागि महत्त्वपूर्ण योगदान गर्ने उनले बताए । बरुण बेभरेजले नेपालमा वाह्य लगानी प्रोत्साहन गर्दै राष्ट्रिय अर्थतन्त्रमा योगदान पुर्याएको मन्त्री भण्डारीले उल्लेख गरे ।
बरुण बेभरेजका कन्ट्री हेड विशालसिंह ठाकुरले उद्योगलाई पूर्णरूपमा हरित ऊर्जामैत्री बनाउने उद्देश्य रहेको बताए । सोलार प्लान्टबाट उत्पादित सौर्य ऊर्जा उद्योगमा खपत हुने कुल विद्युतको ३० प्रतिशत हिस्सा रहेको र भविष्यमा थप सौर्य ऊर्जा उत्पादन गर्ने लक्ष्य रहेको बरुण बेभरेजका कमर्सियल जनरल म्यानेजर मुकेश कुमारले बताए ।