काठमाडौ। गोरखाको धार्चे गाउँपालिका–४ लाप्राकमा निर्माण हुने ४.६ मेगावाट क्षमताको सुपर माछा खोला जलविद्युत् आयोजनालाई लगानी जुटेको छ । आयोजनामा राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले लगानी गर्ने गरी वित्तीय व्यवस्थापनको टुंगो लागेको हो ।
उक्त आयोजनामा लगानी सम्बन्धी सम्झौतामा बूढीगण्डकी हाइड्रोपावर प्रालिका अध्यक्ष खगेन्द्र न्यौपाने र बैंकका प्रमुख कार्यकारी अधिकृत देवेन्द्ररमण खनालले हस्ताक्षर गरे ।
कुल ९६ करोड ३८ लाख ३० हजार रुपैयाँ लागत अनुमान गरिएको आयोजनामा ७० प्रतिशत ऋण र ३० प्रतिशत स्वपूँजी लगानी हुनेछ ।
प्रवर्द्धक कम्पनीका अनुसार ऋण लगानीतर्फ राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले ६७ करोड ४६ लाख ८० हजार रुपैयाँ लगानी गर्नेछन्। बाँकी २८ करोड ९१ लाख ५० हजार रुपैयाँ स्वपूँजी लगानी हुनेछ ।
आयोजनाबाट वार्षिक २७.३७९ गिगावाट आवर विद्युत् उत्पादन हुनेछ । वर्षामा १८.६२१ गिगावाट आवर र हिउँदमा ८.७५ गिगावाट आवर बिजुली उत्पादन हुनेछ ।