सप्तरी। सप्तरीको सुरुङ्गा नगरपालिका–३ स्थित लक्ष्मीनगरमा ‘बिग इन्डस पदमनगर’ औद्योगिकग्राम स्थापना गरिने भएको छ । औद्योगिकग्राम स्थापनाका लागि पूर्वप्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का नेता झलनाथ खनालले सोमबार शिलान्यास गरेका छन्।
व्यवसायी वीरेन्द्र न्यौपानेको अगुवाइमा दुई वर्षभित्र चार अर्ब लागतमा १४ बिघा क्षेत्रफलमा छवटा उद्योगको निर्माण हुने भएको हो।
शिलान्यासका क्रममा खनालले यसले देशको उद्योग क्षेत्रमा योगदान पुर्याउने विश्वास व्यक्त गरे । उनले भने, “यो एक ऐतिहासिक परियोजना हो । मुलुकलाई माया गर्ने र उद्योगधन्दामार्फत देशलाई समृद्धितर्फ लैजान यस औद्योगिक क्षेत्रले महत्त्वपूर्ण योगदान दिने छ भन्ने मैले विश्वास लिएको छु। निजी क्षेत्रले धेरै काम गर्न सक्छन् र देशभक्त उद्यमीले देशमै उद्योगधन्दा सञ्चालन गरी रोजगार सृजना गर्न सक्षम छन् भन्ने यो एउटा उदाहरण हो ।”