काठमाडौं। नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले काठमाडौंको पूर्वीभेगस्थित शंखरापुर नगरपालिका–३ बोझिनीमा ४०० केभी लप्सीफेदी सबस्टेसन निर्माण कार्य समयमै सक्न निर्देशन दिएका छन्। निर्देशक घििसिङले बुधबार निर्माणाधीन सबस्टेसनको निरीक्षण गर्दै जनशक्ति अझै थप गरी तोकिएकै समयमा काम सम्पन्न गर्न आयोजना व्यवस्थापन र निर्माण व्यवसायीहरूलाई निर्देशन दिएका हुन्।
उनले भने, ‘स्थानीय समस्याका कारण सबस्टेसन निर्माणमा केही ढिला भयो तर हालसम्मको निर्माण प्रगति सन्तोषजनक नै देखिएको छ। स्थानीयबाट सडक मर्मत तथा विस्तार, खानेपानी योजना, विद्यालय भवन, खेलमैदान गुम्बा निर्माण, स्थानीयलाई रोजगारीलगायतकामा राखिएका जायज मागलाई आयोजना निर्माणका क्रममा संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर) अन्तर्गत सम्बोधन गरिरहेका छौं, गर्दै जानेछौं ।’
स्थानीयसँगको प्रतिबद्धता बमोजिम सीएसआर अन्तर्गत कार्यक्रमलाई उच्च प्राथमिकतामा राखी अगाडि बढाउन समेत उनले आयोजना व्यवस्थापनलाई निर्देशन दिए ।
तामाकोशी तथा सुनकोशी नदी र तिनीहरूका सहायक खोलाहरूमा निर्माण भएका तथा हुने जलविद्युत् आयोजनाहरूको विद्युत् काठमाडौं उपत्यकामा ल्याउन र स्थानीय रूपमा आपूर्तिका लागि ‘ग्यास इन्सुलेटेड सबस्टेसन (जीआईएस) प्रविधिमा आधारित ४००/२२०, २२०/१३२ र १३२/११ केभी तहको लप्सीफेदी सबस्टेसन निर्माणाधीन छ । सबस्टेसन निर्माण आगामी पुसभित्र सम्पन्न गर्ने लक्ष्यका साथ काम भइरहेको छ ।
स्थानीय समस्याको बाबजुद करिब एक वर्षअघि सुरु भएको सबस्टेसन निर्माण हाल पूर्ण रूपमा भइरहेको छ । करिब १७२ रोपनी जग्गामा निर्माणाधीन लप्सीफेदी सबस्टेसन काठमाडौं उपत्यकामा विद्युत् आपूर्तिका लागि सबैभन्दा ठूलो हब हो ।