काठमाडौं। ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले दूधकोशी जलविद्युत् कम्पनी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत (सीईओ) बिमल गुरुङलाई हटाउन नेपाल विद्युत् प्राधिकरणलाई निर्देशन दिएको छ । मन्त्रालयले प्राधिकरणलाई पत्र नै लेखेर गुरुङलाई हटाउन निर्देशन दिएको हो।
प्रधानमन्त्री केपी शर्मा ओली, ऊर्जामन्त्री दीपक खड्का र मन्त्रालयका उच्चपदस्थ अधिकारीहरूका बारेमा सामाजिक फेसबुकमार्फत गैरजिम्मेवार सन्देश प्रवाह गरेकाले उनलाई सो जिम्मेवारीबाट हटाउन प्राधिकरणको सञ्चालक समितिले प्राधिकरणका निर्देशक कुलमान घिसिङलाई यसअघि पनि निर्देशन दिएको थियो। उक्त निर्देशन पालना नभएको भन्दै मन्त्रालयले लिखित निर्देशन दिएको छ।
सीईओ गुरुङले केही समयअघि फेसबुकमा प्रधानमन्त्री ओली तथा ऊर्जामन्त्री खड्काको फोटो राख्दै उनीहरूलाई कालकोठरीमा पुर्याउनुपर्ने उल्लेख गरेका थिए ।
त्यस्तै, अर्को पोस्टमा मन्त्री खड्कालाई बिचौलिया र मन्त्रालयका वरिष्ठ ऊर्जा विज्ञ प्रबल अधिकारीलाई कुपात्र भन्दै गाली गलौज गरेका थिए ।