काठमाडौं। ३७ मेगावाट क्षमताको माथिल्लो म्याग्दी जलविद्युत आयोजनाको निर्माण कार्य सुरु भएको छ। २६ महिनामा केन्द्रीय ग्रिडमा जोड्ने गरी पश्चिम म्याग्दीको धवलागिरि गाउँपालिका–४,मुदी नाउरामा माथिल्लो म्याग्दी जलविद्युत आयोजना निर्माण गर्न सुरु गरिएको हो।
हाइड्रो इम्पाएर प्राली प्रवर्द्धक रहेको आयोजनाले स्रोतसाधन र जनशक्ति परिचालन गरिएकाले अबको २४ महिनाभित्र विद्युत् उत्पादन गर्ने जनाएको छ। बि.सं २०८२ चैत मसान्त भित्र सम्पन्न गर्ने लक्ष्य सहित बाँध, सुरुङ र विद्युतगृह निर्माणको काम सुरु गरिएको छ । आयोजना प्रमुख रमेश सुवेदीका अनुसार म्याग्दी नदीमाथि ५० र ३० मेट्रिक टन क्षमताको दुई वटा बेलिब्रिज जडान गरेको गरेर आयोजना निर्माण स्थललाई पहुँच मार्गले जोडेको छ ।
मुदीको सिन्कोस र म्याग्दी खोलाको दोभान भन्दा एक सय ३० मिटर तल म्याग्दी खोलाको दायाँ किनारमा बाँध, म्याग्दी खोलाको बायाँ किनारमा भूमिगत बालुवा थिग्राउने पोखरी, हेड रेस सुरुङ बन्ने आयोजनाको बिद्युतगृह म्याग्दी खोला र मुदी खोला भन्दा एक किलोमिटर माथि निर्माण थालिएको छ । ४ किलोमिटर लामो सुरुङबाट ल्याइने पानी तीन सय दशमलव ८८ मिटर अग्लो हेडबाट बिद्युत गृहमा खसालेर बिद्युत् उत्पादन गरिने भएको छ ।
कुल ६ अर्ब ६९ करोड ९४ लाख ९५ हजार लागत अनुमान गरिएको आयोजनामा प्रवर्द्धक र सर्वसाधारणको सेयर बाहेक सिद्धार्थ बैङ्क, नेपाल एसबिआई, सिटिजन्स बैङ्क, एभरेस्ट बैङ्क र नबल बैङ्कको ५ अर्ब ३४ करोड ८८ लाख ९८ हजार लगानी रहने छ ।