काठमाडौं। प्रतिनिधि सभाको अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समिति अध्यक्ष राजकिशोर यादवले नेपाल-भारत-बंगलादेशबीच भएको ऊर्जा सम्झौता दक्षिण एसियामै क्षेत्रीय सहकार्यको नमूना भएको बताएका छन्। नयाँ दिल्लीमा भएको भारत-नेपाल सम्बन्ध, छिमेक कूटनीति र बुद्धको सिकाइको सन्दर्भिकतासम्बन्धि अन्तर्राष्ट्रिय सम्मेलनमा सम्बोधन गर्दै यादवले छिमेक कुटनीतिअनुसार नेपालले गरेको त्रिपक्षीय सम्झौता क्षेत्रीय सहकार्यकै नमूना भएको बताएका हुन्।
उनले भने, ‘जलविद्युत आयोजना, उत्पादन क्षेत्र र पर्यटन क्षेत्रमा गरिने लगानीले हाम्रो आर्थिक तथा औद्योगिक विकास, रोजगारी सिर्जना, प्रविधि साझेदारी र दिगो विकासको प्रवर्द्धन हुन्छ। हालै भएको नेपाल-भारत-बंगलादेशबीच भएको त्रिपक्षीय सम्झौताले ऊर्जा क्षेत्रमा क्षेत्रीय सहकार्यका लागि बाटो खोलेको छ। यो सम्झौता दक्षिण एसियाकै लागि नमूना बन्न सक्छ।’
उनले सार्वजनिक डिजिटल पूर्वाधारको विकासका लागि थप सहकार्य गर्नुपर्ने बताए। यसबाट दक्षिण एसियाको व्यापार, पर्यटन, स्वास्थ्य र शैक्षिक सहकार्यमा थप सहज हुने उनले बताए।