काठमाडौं। नेपाल–भारत विद्युत् आदानप्रदान महसुल निर्धारण विधिसम्मत भएको नेपाल विद्युत् प्राधिकरणले स्पष्ट पारेको छ। प्राधिकरणले विज्ञप्ति जारी गर्दै हाल तय गरिएको नयाँ दर भारतीय इनर्जी एक्सचेन्जमा पिक समयमा पर्ने करिब प्रतियुनिट १० रुपियाँ भारुभन्दा सस्तो रहेको उल्लेख गरेको हो।
नेपाल–भारतबिचको विद्युत् आदानप्रदान सम्झौता अन्तर्गतको विद्युत् आदानप्रदान समितिको २०८१ माघ ३० गते भारतको नयाँ दिल्लीमा सम्पन्न बैठकले २०२५ अप्रिलदेखि २०२६ मार्चसम्मका लागि १३२, ३३ र ११ के।भी। प्रसारण लाइनमार्फत आदानप्रदान गरिने विद्युत्को प्रतियुनिट दर क्रमशः ८.१०, ८.७८ र ९.४१ भारतीय रुपियाँ तय गरेको थियो ।
सन् १९८५ देखि कार्यान्वयनमा आएको समितिको बैठक भारतको केन्द्रीय विद्युत् प्राधिकरणको सदस्य र नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकको सहअध्यक्षतामा बस्ने व्यवस्था रहेको छ । सोही अनुसार नै प्राधिकरण कार्यकारी निर्देशक कुलमान घिसिङ उक्त बैठकमा सहभागी थिए ।
सो बैठकमा घिसिङको सहभागिता र मूल्य समायोजनाका विषयमा फरकढङ्गले टीकाटिप्पणी गरेको भन्दै प्राधिकरणले विज्ञप्ति जारी गर्दै ध्यानाकर्षण भएको जनाएको छ । हरेक वर्षका लागि हुने यस्तो महसुल निर्धारणमा औसत ५.५ प्रतिशत वृद्धि हुने गरेकोमा यस पटक १.५ प्रतिशत मात्र वृद्धि गरिएको प्राधिकरणले जनाएको छ ।