काठमाडौं। ९०० मेगावाट क्षमताको अरुण तेस्रो जलविद्युत् आयोजना प्रवेशमार्गको छुट मुआब्जा वितरण रोकिएको छ । जिल्ला प्रशासन कार्यालयका अनुसार आयोजना विकासकर्ता सतलज जलविद्युत् निगम (एसजेभिएन) ले छुट मुआब्जाबापतको सबै रकम नपठाएपछि वितरण कार्य रोकिएको हो।
यसअधि सर्वोच्च अदालतले गत पुस १७ गते छ्याङकुटी दिदिङ सडक (२४.५ किलोमिटर) अन्तर्गत ४ सय ५४ रोपनी जग्गाको छुट मुआब्जा वितरण गर्न आदेश दिएको थियो। एसजेभिएनले ५३ करोड रुपैयाँ तिर्नुपर्नेमा २५ करोड रुपैयाँमात्र उपलब्ध गराएकाले हालललाई मुआब्जा वितरण कार्य रोकिएको प्रमुख जिल्ला अधिकारी विनोदकुमार खड्काले जानकारी दिए । २५ करोड रुपैयाँ भने ६० परिवारलाई भुक्तानी गरिसकिएको पनि उनले बताए ।
प्रमुख जिल्ला अधिकारी संयोजक रहेको मुआब्जा निर्धारण समितिले विसं २०८० वैशाख २६ गते प्रतिरोपनी ११ लाख ७५ हजार रुपैयाँ मुआब्जा दिने निर्णय गरेको थियो । छ्याङकुटरी(दिदिङ सडकअन्तर्गतको जग्गा मुआब्जा २०४६ सालमा नै दिइए पनि छुट जग्गाको मुआब्जा बाँकी छ । अरुण तेस्रो आयोजनाले व्यावसायिक उत्पादन गर्न थालेको एक वर्षभित्र स्थानीयलाई सेयर दिने सहमति छ। जसअनुसार आयोजनाबाट स्थानीयलाई १६० करोड रुपैयाँ बराबरको सेयर दिइने जनाइएको छ।