दोलखा। ४८.८ मेगावाट क्षमताको खिम्ती–२ जलविद्युत आयोजनाको काम अन्तिम चरणमा पुगेको छ। दोलखा र रामेछापको सिमाना भएर बग्ने खिम्ती खोलामा निर्माणाधीन खिम्ती–२ आयोजनाको भौतिक प्रगति हालसम्म ८० प्रतिशत सम्पन्न भएको हो।
आयोजनाको मुख्य सुरुङ खन्ने, खनिएका सुरुङमा लाइनिङ र कंक्रिटिङ गर्ने, हेडवर्क्सका संरचनाअन्तर्गत बाँध निर्माण, खोलाको दुवैतिर तटबन्ध गर्ने, इन्टेक निर्माण, डिस्याण्डर लगायतको संरचना निर्माणको काम भइरहेको छ । आयोजनाले आउँदो वर्षायामअघि नदी क्षेत्रको काम पूरा गरेर डिस्याण्डर लगायतका कामहरू मात्रै बाँकी राख्ने तयारी गरेको छ।
आयोजनामा मुख्य सुरुङसहित काम गर्न विभिन्न स्थानमा सहायक सुरुङसहित ८ हजार ३ सय ५ मिटर सुरुङ निर्माण गर्नुपर्छ। त्यसमध्ये मुख्य पानी बग्ने सुरुङ, सर्ज साफ्ट, ठाडो सुरुङ र काम गर्न जाने सहायक सुरुङसहित अब मुख्य सुरुङको काम अब १ सय ७० मिटर मात्रै बाँकी छ। त्यो सुरुङ आउँदो चैत अन्त्यसम्म छिचोल्ने गरी काम भइरहेको आयोजनाले जनाएको छ। मुख्य सुरुङको जिरी नगरपालिका वडा नंम्बर ८ खण्डमा कमजोर चट्टानका कारण केही ढिला भएको थियो ।