काठमाडौं। ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री दीपक खड्काले नेपालमा लोडसेडिङ अन्त्य हुनुमा नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको कुनै भूमिका नरहेको बताएका छन्। उर्जामन्त्री खड्काले बिहीबार प्रतिनिधिसभाको बैठकमा घिसिङलाई नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकबाट हटाउन भएका प्रयासबारे सांसदले उठाएका प्रश्नको जवाफ दिँदै नेपालमा लोडसेडिङ अन्त्यदेखि विद्युत् बेच्नेसम्मका कार्यमा घिसिङको नभइ भारतको भूमिका रहेको बताएका हुन्।
उनले नेपालमा लोडसेडिङ अन्त्यको श्रेय भारतलाई जाने बताउँदै त्यसका लागि भारतलाई धन्यवाद दिनुपर्ने समेत बताए।
मन्त्री खड्काले भने, ‘लोडसेडिङ अन्त्य गरेर नायकको उपाधि दिइराखेका छौं समाजले, तपाईंरहामीले, सबैले । तर त्यै मन्त्रालयमा बसेर काम गर्ने पूर्वमन्त्रीहरूलाई राम्रो ज्ञान छ लोडसेडिङको अन्त्य कसरी भएको थियो भनेर । लोडसेडिङको अन्त्य हुँदै गर्दा हामीहरूले भारतबाट ४५० मेगावाट विद्युत् आयात गरेका थियौं । नेपालको आवश्यकता तत्कालीन अवस्थामा ४२५ मेगावाटको थियो। अर्कातिर उद्योगधन्दामा लाइन बेलुकाको कम दिएर लोडसेडिङ भयो भन्यौं । बरु हामीले हाम्रा छिमेकीहरूलाई धन्यवाद दिउँ न हाम्रा आवश्यकता परिपूर्ति गरिदिएकामा भारतलाई धन्यवाद दिउँ । उहाँहरूलाई चाहिँदाचाहिँदै पनि ४५० मेगावाट किन्न दिनुभयो । त्यसका लागि म यसै सदनबाट तत्कालीन समयमा लोडसेडिङ अन्त्य गरेको श्रेय भारतलाई जानुपर्छ र त्यतिखेर दुईवटा प्रधानमन्त्रीहरू केपी शर्मा ओलीज्यूको नेतृत्वमा मन्त्रिपरिषद्मै निर्णय भएर खरिद गर्ने निर्णय रहेछ ।’