काठमाडौं। ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले ‘ट्रंक लाइन’ र ‘डेडिकेटेड लाइन’ विद्युत महसुल उद्योगीले तिर्नुपर्ने बताएका छन्। शुक्रबार भैरहवामा आयोजना भएको सिद्धार्थ उद्योग वाणिज्य संघको ६६औं वार्षिक साधारणसभामा मन्त्री खड्काले ‘ट्रंक लाइन’ र ‘डेडिकेटेड लाइन’ मार्फत प्रयोग गरेको बिजुलीको बिल उद्योगीले तिर्नुपर्ने बताएका हुन्।
उनले भने, ‘उद्योगी आफूले कति रकम तिर्नुपर्ने हो, त्यसको बिल नेपाल विद्युत् प्राधिकरणले दिनुपर्छ, तिर्न बाँकी उद्योगीले बिल अनुसार रकम तिर्नुपर्छ।’
प्रयोग गरेको बिजुलीको बिल तिर्ने दायित्व उद्योगीको रहेको तर झुठा विवरणकै आधारमा उद्योगीलाई बिल तिर्न लगाउनु अत्याचार भएको उर्जामन्त्री खड्काको भनाइ छ।
‘सरकारको जिम्मेवार निकायमा बस्ने, झुठा विवरण पेस गर्ने अनि जनतालाई दुःख दिने कुरा सरकारलाई किमार्थ स्वीकार्य हुँदैन,’ उनले भने ।
मन्त्री खड्काले सरकार निजी क्षेत्रसँग मिलेर साथीका रूपमा काम गर्न चाहेको बताए । निजी क्षेत्र कमजोर भए सरकार बलियो हुन नसक्ने उनको भनाइ छ ।