काठमाडौं। खोटाङको सुङ्देल र दिप्सुङको सिमाना स्थित रावाखोलाबाट उत्पादन गरिएको तीन मेगावाट क्षमताको माथिल्लो रावाखोला जलविद्युत् आयोजना पुनः सञ्चालनमा आएको छ । आयोजना सञ्चालन गर्ने सम्बन्धित कम्पनीले जमिन उपयोग गरेबापत मुआब्जा नदिएको भन्दै स्थानीयले बन्द गरेको आयोजना पुनः सञ्चालनमा आएको हो।
मङ्गलबार बसेको सर्वपक्षीय भेलाले ३५ दिनभित्र जग्गाधनीलाई मुआब्जा उपलब्ध गराउने सहमति गरेसँगै अवरुद्ध जलविद्युत् आयोजना पुनः सञ्चालनमा आएको हो। सर्वपक्षीय भेलामा जग्गाधनी र जलविद्युत् आयोजना सञ्चालकबीच भएको सहमति कार्यान्वयनका लागि स्थानीय रत्नबहादुर राईको संयोजकत्वमा सात सदस्यीय समन्वय समितिसमेत गठन गरिएको गाउँपालिकाले जनाएको छ।
लामो समयदेखि मुआब्जा नपाएको भन्दै निजी तथा सार्वजनिक सम्पत्ति संरक्षण सङ्घर्ष समितिले चरणबद्ध आन्दोलन थालेको थियो।