काठमाडौं। ८ मेगावाट क्षमताको तादी घ्याङफेदी जलविद्युत् आयोजना निर्माण गर्न सिद्धार्थ बैंकसँग कर्जा लगानी सम्झौता भएको छ । बुधबार काठमाडौंमा आयोजित एक कार्यक्रममा एबीपी इनर्जी प्रालि र सिद्धार्थ बैंक लिमिटेडबीच कर्जा लगानी सम्झौता भएको हो।
सम्झौतामा एबीपी इनर्जीका तर्फबाट अध्यक्ष पूर्णलाल श्रेष्ठ र सिद्धार्थ बैंकका तर्फबाट क्रेडिट हेड अमित श्रेष्ठले हस्ताक्षर गरेका छन्।आयोजनाको कूल अनुमानित लागत १ अर्ब ६४ करोड रुपैयाँ छ । कुल लागतको ७५ प्रतिशतले हुने १ अर्ब २३ करोड रुपैयाँ दीर्घकालीन ऋणबाट व्यवस्थापन गर्न सिद्धार्थ बैंकसँग सम्झौता भएको छ। बाँकी २५ प्रतिशत रकम भने स्वपूँजीबाट व्यवस्थापन गरिने छ ।
यो परियोजना अनुभवी प्रवद्र्धकहरूको समूहले विकास गरिरहेको छ ।नुवाकोटको दुप्चेश्वर गाउँपालिकामा अवस्थित तादी घ्याङफेदी जलविद्युत् आयोजना १८ महिनाभित्र सम्पन्न गर्ने लक्ष्य छ । आयोजनाबाट व्यावसायिक विद्युत् उत्पादन गर्नुपर्ने मिति ३१ वैशाख २०८४ तय गरिएको छ ।