रसुवा। गोसाइँकुण्ड गाउँपालिका–५ स्यफ्रुबेसीमा निर्माणाधीन २० मेगावाटको लाङटाङ खोला जलविद्युत् आयोजनाको निर्माण कार्य अन्तिम चरणमा पुगेको छ। आयोजनाको भौतिक प्रगति हालसम्म ९५ प्रतिशत सम्पन्न भएको हो।
आयोजनाको बाँकी निर्माण कार्य समेत आगामी वैशाखभित्रै सम्पन्न गरी विद्युत् उत्पादन गर्ने लक्ष्य आयोजनाको रहेको छ। मल्टी इनर्जी डेभलपमेन्ट प्रालि प्रवर्द्धक रहेको आयोजनाका संरचनाको सामान्य फिनिसिङ कार्य र अडिट गेट क्लोजिङको काम मात्र बाँकी रहेको आयोजनाले जनाएको छ।
कुल ४ अर्ब रुपैयाँ लागत अनुमान गरिएको आयोजनामा बाढीले क्षति पुऱ्याउँदा लागत थप १२ करोड रूपैयाँ थप हुन पुगेको छ । आयोजनामा कुल लागतको २५ प्रतिशत स्वपूँजी र ७५ प्रतिशत बैंकको ऋण लगानी छ। आयोजनामा सनराइज बैंकको अगुवाईमा ३ वटा बैंकले ऋण लगानी गरेका छन् ।