काठमाडौं। २८.१ मेगावाटको माथिल्लो काबेली खोला जलविद्युत् आयोजनाको इलेक्ट्रो मेकानिकल ठेक्का सम्झौता भएको छ। पिस इनर्जी कम्पनी प्रालिले निर्माण गरिरहेको आयोजनाको इलेक्ट्रो मेकानिकल उपकरण उत्पादन, आपूर्ति र जडानको लागि फ्लोभेल इनर्जी प्रालिसँग ठेक्का सम्झौता भएको हो।
शुक्रबार प्रवर्द्धक कम्पनीका निर्देशक (सञ्चालक) श्यामप्रसाद मैनाली र फ्लोभेलका उपाध्यक्ष विवेक सक्सेनाले सम्झौतामा हस्ताक्षर गरेका छन्। उक्त काम १५ महिनाभित्र पूरा गर्नेगरी सम्झौता भएको छ।
कार्यक्रममा हाइड्रो मेकानिकलतर्फको काम करिब २० प्रतिशत पूरा भइसकेको हुँदा फ्लोभेलले तोकिएको समयभित्रै जिम्मेवारी पूरा गर्ने प्रतिबद्धता जनाएको निर्देशक मैनालीले बताए। यसैगरी, फ्लोभेलका उपाध्यक्ष सक्सेनाले नवीकरणीय तथा स्वच्छ ऊर्जा विकासमा अगाडि बढिरहेकी नेपालले विश्वास गरेर इलेक्ट्रो मेकानिकलतर्फको कामको जिम्मा दिएकोमा खुसी व्यक्त गरे।