काठमाडौं। भारतीय ठूला कम्पनीले लगानी र प्रतिफल सुनिश्चित भए नेपालको उर्जा क्षेत्रमा लगानी गर्न आफूहरु तयार रहेको बताएका छन्। भारतस्थित नेपालको राजदूतावास र भारतीय हरित ऊर्जा महासङ्घको संयुक्त आयोजना तथा स्वतन्त्र ऊर्जा उत्पादकको संस्था, नेपाल (इप्पान)को संस्थागत सहभागितामा नयाँ दिल्लीमा आयोजित ‘नेपाल–भारत इनर्जी समिट’मा सहभागी भारतका व्यावसायिक घरानाले लगानी र प्रतिफल सुनिश्चित भए नेपालको उर्जा क्षेत्रमा लगानी गर्न आफूहरु तयार रहेको बताएका हुन्।
उनीहरुले लगानी गरेपछि प्रतिफलको सुनिश्चितता, सहज रूपमा लगानी फिर्ता लिन पाउनुपर्नेलगायत जलविद्युत् आयोजनाले सामना गर्नुपरेका समस्या समाधानमा सरकारले सहजीकरण गर्नुपर्ने बताएका छन्।
उत्तर भारत हाइड्रोपावर कम्पनीका कार्यकारी निर्देशक नरेश गोयलले नेपाल सरकारले प्रशासनिक अवरोध हटाएर लगानीको वातावरण बनाइदिएमा भारतीय लगानीकर्ता नेपालमा लगानी गर्न तयार रहेको बताए ।
भारतका लागि नेपाली राजदूत डा शंकर शर्माले नेपाल सरकारले अघि सारेको सन् २०३५ सम्म २८ हजार ५०० मेगावाट विद्युत् उत्पादनको लक्ष्य प्राप्तिका लागि दूतावासले सम्मेलन आयोजना गरेको बताए । उनले भारतीय लगानीकर्ताले नेपालमा आयोजनाको स्वामित्व किनेर वा ‘जोइन्ट भेन्चर’मा पनि काम गर्न सक्ने जानकारी दिए ।
नेपालमा ९०० मेगावाटको अरुण तेस्रो जलविद्युत् आयोजना निर्माण गरिरहेको भारतीय कम्पनी सतलज जलविद्युत् निगम (एसजेभीएन) का आयोजना निर्देशक सुशील शर्माले नेपालमा काम गर्न वन, जग्गा प्राप्ति, भन्सार र सडकको समस्या रहेकाले ती समस्या समाधानमा सरकारले सहजीकरण गरिरहेको उल्लेख गरे ।