काठमाडौँ। ४.७२ मेगावाटको माथिल्लो पिलुला खोला–२ जलविद्युत् आयोजनाबाट विद्युत् उत्पादन सुरु भएको छ । २०८० सालको बाढीबाट क्षति पुगेको आयोजना पुनर्निर्माण गरी हिजो बिहीबारदेखि उत्पादन सुरु भएको हो।
पहिलो पटक २०७१ साल पुस १३ गतेबाट आयोजना सञ्चालनमा आएको थियो। १ अर्ब ३१ करोड रुपैयाँमा निर्माण सम्पन्न भएको आयोजनामा जेपर्ट हाइड्रो इन्डिया प्रालिका इलेक्ट्रो मेकानिकल उपकरण जडानहरू गरिएका छन्। उत्पादित विद्युत् संखुवासभाको बानेश्वर सबस्टेसनमार्फत केन्द्रीय प्रणालीमा प्रवाह भएको छ ।
युरोपियन प्रविधिलाई एसियन मापदण्ड, वातावरण र आयोजना अनुकूल डिजाइन गरी आपूर्ति तथा जडानको काम गर्दै आएको जेपर्टले नेपालमा दर्जन जति आयोजनामा काम गरिसकेको छ । कम्पनीमा सहकार्य र नयाँ आविष्कारलाई प्राथमिकता दिएर काम गर्दै आएको हुँदा जेपर्टले नेपालका जलविद्युत् विकासकर्ताको विश्वास जित्न सफल भएको कम्पनीको दाबी छ।