काठमाडौं। अमलेखगञ्ज १३२/६६ केभी सबस्टेसनको निर्माण कार्य अन्तिम चरणमा पुगेको छ। पथलैया–सिमरा–वीरगञ्ज औद्योगिक करिडोरको विद्युत् आपूर्ति समस्या समाधान र बढ्दो माग पूर्ति गर्न निर्माण थालिएको अमलेखगञ्ज सबस्टेसनको अन्तिम चरणको काम भइरहेको हो।
सबस्टेसनमा रहने अधिकांश मुख्य उपकरण जडान भइसकेका छन् । आगामी जेठ दोस्रो साताभित्र सम्पूर्ण काम सकेर सञ्चालनमा ल्याउने तयारी भइरहेको बताइएको छ।
पूर्व–पश्चिम १३२ केभी डबल सर्किट प्रसारण लाइनमध्ये एउटा सर्किटलाई अमलेखगञ्ज सबस्टेसनभित्र छिराउने (लुप इन) र बाहिर निकाल्ने (लुप आउट) गर्ने काम सकिएको छ ।
त्यस्तै हेटौंडाबाट सिमरा–वीरगञ्ज औद्योगिक करिडोरमा विद्युत् आपूर्ति गर्ने ६६ केभी लाइनको दुवै सर्किटलाई सबस्टेसनमा लुप इन र लुप आउट गरिसकिएको छ । हेटौंडाबाट गएको ६६ केभी लाइन लामो र क्षमता कम हुँदा सिमरा–वीरगञ्ज औद्योगिक करिडोरमा भोल्टेजको समस्या थियो ।
६६ केभी लाइनको लम्बाइ पनि घट्ने र १३२ केभी प्रसारण लाइनबाट विद्युत् आपूर्ति स्रोत हुने भएपछि अमलेखगञ्ज सबस्टेसन सञ्चालनमा आई सिमरा–वीरगञ्ज औद्योगिक करिडोरको विद्युत् आपूर्तिमा सुधार हुनेछ ।
सबस्टेसनमा १३२/६६ केभी २०० एमभएि र ६६/११ केभी २० एमभीए क्षमताका पावर ट्रान्सफर्मर छन् । स्थानीय विद्युत् आपूर्तिका लागि ११ केभीका ६ वटा फिडर छन् ।