सुर्खेत । राष्ट्रिय गौरवको भेरी बबई डाइभर्सन आयोजनाको काम अनितम चरणमा पुगेको छ । आयोजनाको काम हालसम्म ८४ प्रतिशत समपन्न भएको हो ।
सुर्खेतको भेरीगङ्गा नगरपालिका–११ चिप्लेस्थित भेरी नदीमा बाँध बाँधेर १२.२ किलोमिटर सुरुङमार्फत भेरीको पानी सुर्खेत र बर्दियाको सिमानास्थित बबई नदीमा खसाल्न लागिएको छ । ४६ मेगावाट विद्युत् उत्पादनसहित बाँके र बर्दियाको करिब ५१ हजार जमिनमा सिँचाइ सुविधा पुऱ्याउने यसको लक्ष्य छ ।
३३ अर्ब १९ करोड ६६ लाख रूपैयाँ लागत अनुमान गरिएको आयोजनामा हालसम्म १६ अर्ब ९६ करोड रूपैयाँ खर्च भइसकेको छ । बाँधस्थलमा बाँधका छ वटा ‘वे’ मध्ये दुईवटाको ढलान, ग्राभल ट्रिप, फारवे, लिफ्ट वाललगायत संरचना निर्माण भइसकेका छन् ।