काठमाडौं। झापा गाउँपालिकाको तागान्डुब्बामा सडक कालोपत्रे हुने भएको छ। झापा गाँउपालिका तागान्डुब्बा, झापाले सो कार्य गर्ने भएको हो।
गाउँपालिकाको अमरपथ देखी पूर्व मुखिया चोक हुदै गणित गाउँ, कमाटोली, चारतागाँची हुदै झापा बजार सम्म सडक कालोपत्रे हुने भएको हो। यसैगरी झापा गाउँपालिका–२ को हुलाकी सडक गोपाल कडेल को पसल देखी मिलन बस्ती हुँदै सालमारा सम्म सडक कालोपत्रे हुने भएको छ।
यी दुई सडक अव्यवस्थित हुँदा यात्रा गर्न समस्या हुँदै आएको थियो। सडक कालोपत्रे नहुँदा विभिन्न ठाउँमा सडकमा खाल्डाखुल्डी परी सडक दुर्घटना पनि हुने गरेको छ। यसैगरी अव्यवस्थित सडकको कारण हिउँदमा धुलो र वर्षामा हिलोको कारण सो सडक भएर यात्रा गर्ने यात्रु साथै स्थानीयबासीहरुले सास्ती झेल्दै आएका छन्। सोही समस्यालाई समाधान गर्नको लागि गाउँपालिकाले सडक कालोपत्रे गर्ने योजनालाई अघि बढाएको हो। यसका लागि गाउँपालिकाले ठेक्का आह्वान गरेको छ।
गाउँपालिकाको यी दुवै ठाउँको सडक कालोपत्रे भएपछि यात्रा गर्न सहज हुने गाउँपालिकाको विश्वास रहेको छ। ठेक्का प्रक्रिया सकिएपछि चाँडै सडक कालोपत्रेको कामलाई अघि बढाउने गाउँपालिकाको योजना रहेको छ। सडक कालोपत्रे हुने खबरले त्यहाँका स्थानीयबासी पनि खुसी भएका छन्।