काठमाडौं । नेपाल विद्युत् प्राधिकरण तयार पारेको श्वेतपत्र अनुसार प्राधिकरण घाटामा रहेको देखिएको छ । विगत आठ वर्षदेखि निरन्तर नाफा कमाइरहेको दाबी गरेकाे प्राधिकरण अहिले ५ अर्ब २६ करोड रुपैयाँ सञ्चित घाटामा देखिएको हो ।
त्यसैगरी प्राधिकरणले जारी गरेको श्वेतपत्रअनुसार प्राधिकरण अत्यधिक ऋणमा रहेको समेत देखिएको छ । हाल प्राधिकरण २ खर्ब ४८ अर्ब १२ करोड दीर्घकालीन ऋणमा रहेको श्वेतपत्रमा उल्लेख छ । त्यसमध्ये नेपाल सरकारको आन्तरिक स्रोततर्फ ७७ अर्ब ८ करोड र नेपाल सरकारको जमानतमा वैदेशिक दातृ निकायतर्फ १ खर्ब ७१ अर्ब ४ करोड रहेको श्वेतपत्रमा उल्लेख छ । प्राधिकरणको कुल दायित्व करिब ३ खर्ब ८५ अर्ब रहेको पनि श्वेतपत्रमा उल्लेख छ ।
यसबाहेक २०८०/८१ सम्म प्राधिकरणको वित्तीय प्रतिबद्धता तथा सम्भावित दायित्व ६९ अर्ब ५७ करोड छ । प्राधिकरण विरुद्ध विभिन्न अर्ध न्यायिक तथा न्यायिक निकायमा विचाराधीन रहेका दाबी रकम सहितका मुद्दाहरूको सम्भावित दायित्व फागुन २०८१ सम्म ८ अर्ब ४० करोड पुगेको छ । यसैगरी प्राधिकरणले सहायक तथा सम्बद्ध कम्पनीहरूको प्रवद्र्धनका लागि कुल ४१ अर्ब १३ करोड बराबर संस्थागत जमानत प्रदान गरेको छ ।
प्राधिकरणले आर्थिक वर्ष २०८०/८१ सम्म कुल सञ्चित नाफा करिब ४६ अर्ब ४७ करोड रहेको दाबी गरेको थियो । तर, चालु आव फागुन मसान्तसम्म नाफा ९ अर्ब ४८ करोड देखाइएको छ । प्राधिकरणको पुरानै वित्तीय विवरण अनुसार यो आयकर अघिको नाफा हो ।
२०८०/८१ सम्म प्राधिकरणको कुल सम्पत्ति करिब ६ खर्ब ४४ अर्ब रहेको जनाइएको छ । स्थिर सम्पत्ति २ खर्ब ३५ अर्ब रहेकोमा पुनर्मूल्यांकनबाट करिब ९९ अर्ब ४६ करोड थप भएको देखिएको छ, जुन लेखांकन हुन बाँकी छ ।