काठमाडौं । भारतबाट नेपालमा विद्युत आयातको समय चार घण्टा थपिएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काको पहलमा भारतको इण्डियन एक्सचेञ्ज मार्केटमार्फत आइरहेको विद्युत्को समय चार घण्टा बढाइएको हो ।
समय बढाएसँगै अब बिहान २ बजेदेखि बेलुका ५ बजेसम्म विद्युत् आपूर्ति हुनेछ । यसअघिसम्म बिहान ६ बजेदेखि बेलुका ५ बजेसम्म विद्युत आयात हुने गरेको थियो ।
नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यका अनुसार भारतको ढल्केबर–मुजफ्फरपुर ४०० केभी अन्तरदेशीय प्रसारण लाइनमार्फत आपूर्ति हुँदै आएको ६०० मेगावाट विद्युतको समयावधि बढाइएको हो ।
अब औद्योगिक क्षेत्रहरूमा साँझ ५ बजेसम्म निर्वाध विद्युत् आपूर्ति सुनिश्चित हुने भएको छ । नदी तथा खोलानालामा पानीको बहाव बढेसँगै देशभित्रै जलविद्युत् उत्पादनमा उल्लेख्य वृद्धि भएको भए पनि औद्योगिक मागलाई पूरा गर्न भारतबाटको आयात अझै अपरिहार्य रहेको प्राधिकरणको भनाइ छ ।