काठमाडौं । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाह र जलविद्युत् विकास सङ्गठन, (एनएचपीसी) लिमिटेडका अधिकारीबीच छलफल भएको छ । मुख्यमन्त्री शाह र अधिकारीबीच नयाँ दिल्लीमा पश्चिम सेती जलविद्युत् परियोजना निर्माणका विषयमा छलफल भएको हो ।
मुख्यमन्त्री शाह र भारतको जलविद्युत् विकास सङ्गठनका अधिकारीबीच पञ्चेश्वर जलविद्युत् आयोजना, बेतन कर्णाली, फुकोट कर्णाली, मुगु कर्णाली आयोजनाको सम्भाव्यता अध्ययन प्रतिवेदनका बारेमा छलफल भएको मुख्यमन्त्रीको सचिवालयले जनाएको छ ।
मुख्यमन्त्री नेतृत्वको टोलीले र भारतको ‘नेश्नल स्किल डेभलपमेन्ट कर्पोरेशन’ कम्पनीका अधिकारीसँग प्रविधिमैत्री सीप विकास क्षमताका बारेमा समेत छलफल गरेको छ । सूचना प्रविधिको युगमा डिजिटलमैत्री प्राविधिको विकास गरी जनतालाई आत्मनिर्भर बनाउँन सकेमा राष्ट्र«लाई टेवा पुग्ने विश्वास लिइएको छ ।