काठमाडौं। हुलाकी राजमार्ग अन्तर्गत कपिलवस्तुमा कालोपत्रेको काम धमाधम सुरु भएको छ। महाराजगन्ज नगरपालिकाको राजपुरदेखि कपिलवस्तु सदरमुकाम तौलिहवाको जमुवार पुलसम्म पहिलो खण्ड अन्तर्गत सडक कालोपत्रे हुन लागेको हो।
एक साता अगाडिदेखि उक्त खण्डमा कालोपत्रे गर्ने कार्य सञ्चालनमा आएको हो। हुलाकी राजमार्ग सडक आयोजना कार्यालयका अनुसार दैनिक पाँच सय मिटरको दरले सडक कालोपत्रे भइरहेको छ।
काम सुरु भएको एक साताभित्रमा दुई किलोमिटर कालोपत्रे भएको छ। चैत्र मसान्तसम्म पहिलो खण्ड पूरा गर्ने लक्ष्य राखेर काम द्रुत गतिमा अगाडी बढाइएको छ।
कपिलबस्तुमा हुलाकी राजमार्गका करिब आधा काम सम्पन्न भएको छ। राजमार्गका बाकी २ खण्ड राजपुर–दत्तपुर र दत्तपुर–तुरन्तपुर खण्डमा कल्भर्ट रबेस हाल्ने काम भइरहेको कार्यालयले जनाएको छ। यसैगरी महेन्द्र राजमार्ग र हुलाकी जोडने २ सडकको काम सञ्चालनमा रहेका छन्। जितपुर–तौलिहवा सर्भिस लेन अन्तर्गत पक्की नाली निर्माणको काम सम्पन्न भई सब बेस राख्ने काम सञ्चालनमा आएको छ। यसै गरी खरेन्द्रपुर–भिल्मी खण्डमा टेवा पर्खाल निर्माण र कल्भर्ट निर्माण हुँदै गरेको बताइएको छ।
उक्त जिल्लामा हुलाकी राजमार्ग अन्र्तगत ७४ किलोमिटर सडक निर्माणको चरणमा छ। कुल दुई अर्ब ६२ करोडमा टेन्डर स्वीकृत भई २०७६ साल मंसिरबाट काम सुरु भएको थियो। कोरोना महामारीले गर्दा ढिला भएको भएपनि अहिले सडक निर्माण द्रुतगतिमा अगाडी बढीरहेको छ।