काठमाडौं। चीनको सिमाना कोरला नाका जोड्ने सडक कालोपत्रे गर्न सुरु गरिएको छ। राष्ट्रिय गौरवको आयोजना बेनी–जोमसोम–कोरला सडक अन्तर्गत मुस्ताङ खण्डमा कालोपत्रे गर्न सुरु गरिएको हो।
मुस्ताङको कैकु खोलादेखि खन्तीसम्म २० किलोमिटर सडक कालोपत्रे गरिसकिएको छ। सडक कालोपत्रे भएपछि मुस्ताङ भ्रमणमा पुगेका पर्यटकहरुलाई सहज भएको छ। उक्त सडक खण्डको सडक स्तरोन्नती र कालोपत्रे गर्न शर्मा गजुरमुखी जेभी ले ५४ करोड ३० लाख रुपियाँमा ठेक्का लिएको थियो। उक्त खण्डको अहिलेसम्म को भौतिक प्रगति ८० प्रतिशत रहेको छ।
जोमसोमदेखि कोरला नाकासम्मका ११० किलोमिटर सडक मध्ये ८५ किलोमिटर सडकको निर्माण सम्पन्न भएको छ। आयोजनाले मुस्ताङदेखि कागबेनीसम्मको १३ किलोमिटर सडक कालोपत्रे गर्नका लागि रौताह आत्रय सरस जेभीसँग २८ करोड रुपियाँमा ठेक्का सम्झौता गरेको हो।