काठमाडौं । सिन्धुपाल्चोकको मेलम्ची र हेलम्बु क्षेत्रमा बाढीले पुर्याएको क्षतिको पुनः निर्माणमा सरकार लागिपर्ने भएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले मेलम्ची र हेलम्बु क्षेत्रको आज स्थलगत अनुगमन गर्दै बाढी प्रभावित क्षेत्रको पुनः निर्माणमा सरकारले काम गर्ने बताएका हुन् ।
मन्त्री खड्काले मेलम्ची र हेलम्बु क्षेत्रमा सिँचाइ व्यवस्थापनका लागि विशेष योजना अघि बढाउने घोषणा गरे । पहाडी क्षेत्रका उर्वर भूमिको सदुपयोग गर्न सिँचाइ व्यवस्थापनलाई सरकारले प्राथमिकतामा राखेको समेत उनले बताए ।
सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिका–भीमटारमा इन्द्रावती नदीको पानी ल्याएर सिँचाइका लागि विस्तृत परियोजना प्रतिवेदन तयार गरिने मन्त्री खड्काले बताए । पहाडी क्षेत्रमा कृषिको उत्पादनलाई बढवा दिन सिँचाइ व्यवस्थापन महत्त्वपूर्ण भएको उनी बताउँछन् ।
विसं २०७८ असार १ गतेको बाढीले मेलम्ची र हेलम्बु क्षेत्रमा ठूलो धनजनको क्षति पुर्याएको थियो ।