काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) ले फ्रान्सेली लगानीकर्तालाई नेपालको जलविद्युत् क्षेत्रमा लगानी गर्न आग्रह गरेको छ । फ्रान्सको राजधानी पेरिसमा आयोजित ‘फ्रान्स–नेपाल जलविद्युत् लगानी सम्मेलन’लाई आज सम्बोधन गर्दै इप्पानका अध्यक्ष गणेश कार्कीले नेपालको जलविद्युत् क्षेत्रमा लगानी गर्न आग्रह गरेका हुन् ।
अध्यक्ष कार्कीले दक्षिण एसियामा बढिरहेको ऊर्जाको माग पूरा गर्न नेपालको जलविद्युत्को महत्त्वपूर्ण भूमिका रहने भएकाले लगानी गर्न आग्रह गरे । सन् १९९९ अघि नेपालको कूल विद्युत् उत्पादन क्षमता २५० मेगावाट रहेकामा २५ वर्षमै तीन हजार ५०० मेगावाट पुगेको छ । यसमा निजी क्षेत्रको योगदान ८० प्रतिशत रहेको अध्यक्ष कार्कीले जानकारी गराए ।
त्रिशूली नदीमा निर्माणाधीन २१६ मेगावाट क्षमताको माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनाको वित्तीय व्यवस्थापनमा फ्रान्सले सहयोग गरेको कार्कीले स्मरण गराए । यस परियोजनाका लागि फ्रान्सले अन्तरराष्ट्रिय वित्त निगमसँग मिलेर ४५३ मिलियन अमेरिकी डलर ऋण उपलब्ध गराएको थियो । यो परियोजनाबाट नेपालको विद्युत् आपूर्तिमा उल्लेख्य सहयोग पुग्ने विश्वास लिइएको छ ।