काठमाडौं । हुम्लाको नाम्खा गाउँपालिका–६ तिलगाउँमा बाढी र पहिरोले लघु जलविद्युत आयोजनामा क्षति पुगेको छ । बाढी र पहिरोले लघु जलविद्युत पुरिँदा एक करोड भन्दा बढीको क्षति भएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ ।
प्राधिकरणका अनुसार बाढी पहिरोबाट जलविद्युत पुरिनुका साथै कुलो र खानेपानी समेत बगाएको छ । खानेपानी मर्मतका लागि पाइप पुर्याइएको छ । नाम्खा गाउँपालिका अध्यक्ष प्रेमबहादुर लामासहितको राहतको टोली । विपद व्यवस्थापन प्राधिकरणबाट पनि एउटा टोली घटनास्थलमा पुगेका छन् ।
त्यहाँको अवस्थाबारे अध्ययन गर्न स्ट्रक्चरल इन्जिनियर, जिओलोजिस्ट, हाइड्रोलोजिस्ट र विपदविज्ञ गरी चार जना पुगेका छन् । जेठ १ गते राति एक्कासी आएको बाढी र पहिरोले तिलगाउँ जोखिममा छ ।