काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले सरकारले लिएको आगामी १० वर्षमा २८ हजार ५०० मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्य पूरा गर्न विद्युत् विधेयक अपरिहार्य भएको बताएका छन् ।
मन्त्रालयका सचिव, पूर्वसचिव, ऊर्जाविज्ञ, नियामक निकाय, मन्त्रालयका उच्च अधिकारी तथा नेपाल विद्युत् प्राधिकरणका प्रतिनिधिहरूसँग आज विद्युत् विधेयकका विषयमा छलफल गर्दै मन्त्री खड्काले ऊर्जा विकासको मार्गचित्रलाई पूरा गर्न उक्त विधेयक अपरिहार्य रहेको बताएका हुन्।
विद्युत् विधेयकलाई सरकारले उच्च प्राथमिकतामा राखेको समेत उनले बताए । उनले भने, “सरकारले आगामी १० वर्षमा २८ हजार ५०० मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्य लिएको छ, यसलाई पूरा गर्न विद्युत् विधेयक अत्यन्त अपरिहार्य रहेको छ,” मन्त्री खड्काले भने ।
विधेयकले जलविद्युत् उत्पादन, प्रसारण, वितरण र बजार व्यवस्थापनमा स्पष्ट नीति तथा संरचना तय गर्दै निजी क्षेत्रको सहभागिता सुनिश्चित गर्ने खालको कानुनी आधार तयार गर्ने मन्त्री खड्काको भनाइ छ । यसले ऊर्जा सुरक्षाको प्रत्याभूति गर्दै स्थानीय र राष्ट्रिय दुवै तहमा आर्थिक समृद्धिमा महत्वपूर्ण योगदान पुर्याउने अपेक्षा गरिएको मन्त्री खड्काले बताए।