काठमाडौ । नेपालका लागि अमेरिकी राजदूत डिन आर थम्पसनले नेपालको ऊर्जा क्षेत्रमा अमेरिकाको निरन्तर साथ र सहयोग रहने बताएका छन् । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्कासँगको भेटमा राजदूत थम्पसनले यस्तो बताएका हुन् ।
भेटमा दुई देशबीचको ऊर्जा सहकार्य र मिलिनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) परियोजना कार्यान्वयनका विभिन्न पक्षमा छलफल भएको छ ।
भेटमा ऊर्जामन्त्री खड्काले एमसीसी परियोजनामार्फत अगाडि बढाइएका आयोजनाको काम निरन्तर अगाडि बढिरहे पनि एमसिसी केही समयदेखि होल्ड भएकाले केही अन्यौलता सिर्जना गरेको बताए।
थम्पसनले एमसिसी परियोजना निरन्तर अगाडि बढ्ने र ऊर्जा क्षेत्रमा अमेरिकाको थप सहयोग हुने बताए । एमसिसी परियोजनालाई अगाडि बढाउन हरसम्भव पहल र प्रयास भइरहेको उनको भनाइ छ । उनले अहिले एमसिसीअन्तर्गत अगाडि बढाइएका आयोजनालाई निरन्तर अगाडि बढाउन नेपाल सरकारको तर्फबाट गरिनुपर्ने सहयोगका लागि आग्रह गरे।