काठमाडौं । राष्ट्रिय गौरवको आयोजना महाकाली सिँचाइ तेस्रो चरणको काम हालसम्म २६ प्रतिशत पूरा भएको छ । आगामी तीन वर्षभित्र पूरा गर्ने लक्ष्य राखिएको आयोजनाको काम हालसम्म २६ प्रतिशत मात्र सम्पन्न भएको आयोजनाले जनाएको हो ।
बजेट अभाव, मुआब्जा वितरण र वनको समस्याका कारण आयोजनाको कामले गति लिन सकेको थिएन । आव २०७६/७७ मा राष्ट्रिय गौरवको आयोजनामा समावेश भएपछि बल्ल उक्त आयोजना सरकारको प्राथमिकतामा परेको छ ।
टनकपुरदेखि कैलालीको गोदावरीसम्म ४८ किलोमिटर मूल नहर निर्माण गर्नुपर्ने भए पनि २८ किलोमिटर मूल नहर निर्माण मात्रै सम्पन्न भएको छ । बाँकी २० किलोमिटर नहर निमार्णको काम भइरहेको छ ।
लक्ष्यअनुसार मूल नहरसहित १५१ किलोमिटर नहर निर्माण भएपछि कैलाली र कञ्चनपुरको ३३ हजार ५२० हेक्टर क्षेत्रफलमा सिँचाइ सुविधा पुग्नेछ । आयोजनाका अनुसार हालसम्म रु नौ अर्ब बजेट खर्च भइसकेको छ । चालु आवमा आयोजनाका लागि करिब रु दुई अर्ब बजेट विनियोजन भएको थियो ।