काठमाडौं । विश्व बैंकबाट नेपालको सिंचाईं र विद्युत क्षेत्रका लागि २५ करोड ७० लाख डलर ऋण स्वीकृत भएको छ । विश्व बैंकले सोमबार प्रेस विज्ञप्ति जारी गर्दै गत मे २९ मा बसेको विश्व बैंक निर्देशक समिति बैठकले नेपालका दुई परियोजनाका लागि २५ करोड ७० लाख अमेरिकी डलर बराबर ऋण स्वीकृत गरेको जानकारी दिएको हो ।
रानी जमरा कुलरिया सिंचाई आयोजनाको तेस्रो चरण (फेज–३० का लागि १३ करोड ७० लाख अमेरिकी डलर बराबर ऋण स्वीकृत भएको छ । सुदूरपश्चिम प्रदेशको कैलाली जिल्लामा वर्षैभरि सिंचाई सुविधा उपलब्ध गराई कृषि उपजको उत्पादन वृद्धि गर्ने लक्ष्य यो परियोजनाले राखेको छ ।
त्यसैगरी विद्युत् आपूर्ति प्रणाली सुधार परियोजनाका लागि १२ करोड अमेरिकी डलर ऋण सुविधा लिइएको छ । उक्त रकमबाट कोशी, बागमती, कर्णाली र सुदूरपश्चिम प्रदेशको विद्युत् वितरण प्रणालीलाई मजबुत र विश्वसनीय बनाइने जनाइएको छ । नेपाल विद्युत् प्राधिकरणमार्फत सञ्चाचन हुने आपूर्ति प्रणाली सुधार परियोजनाले सबस्टेसन निर्माण, वितरण संरचनाको स्तरोन्नति तथा त्यसको निगरानी गर्ने स्वचालित प्रणाली विकास गर्ने उद्देश्य राखिएको जनाइएको छ ।