काठमाडौं । पश्चिम नवलपरासीमा रहेको नेपाल गण्डक पश्चिम नहर सिँचाइ आयोजनाको ‘सेटलिङ्ग बेसिन’को उद्घाटन भएको छ । सोमबार ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले र उक्त क्षेत्रका सांसद विनोद चौधरीले संयुक्त रुपमा ‘सेटलिङ्ग बेसिन’को उद्घाटन गरेका हुन् ।
उद्घाटन कार्यक्रममा मन्त्री खड्काले पश्चिम नवलपरासीका नागरिकले भोगेको डुबान र सिँचाइको समस्या समाधानका लागि आफू प्रतिबद्ध रहेको बताए। उनले यहाँका ६ वटा नदीहरूमा तटबन्ध गनुपर्ने आवश्यकता औल्याउँदै त्यसका लागि पर्याप्त बजेटको व्यवस्थापन गर्न सरकार गम्भिर रहेको बताए ।
मन्त्री खड्काले पश्चिम नवलपरासीमा आफू मन्त्री भएपछि दोस्रोपटक आएको र यहाँका समस्यासँग आफू जानकार रहेको बताए । उनले सांसद विनोद चौधरीजस्तो राष्ट्रिय अन्तरराष्ट्रियस्तरमा स्थापित व्यक्ति यो क्षेत्रले पाउनु गौरवको विषय भएको बताए।