काठमाडौं। ग्रामीण विकासका लागि निर्माण गरिएका सडक निर्माणले ग्रामीण बस्ती जोखिममा परेका छन्। बस्तीमा हुन सक्ने जोखिमलाई ध्यानै नदिइ जथाभावी सडक निर्माण गरिँदा वर्षा तथा हिमपातका बेला पहिरोको जोखिम बढेको हो।
हुम्ला जिल्लाको ताँजाकोट–१ काँडगाउँको ३ वटाभन्दा बढी बस्ती जथाभावी ग्रामीण सडक निर्माण कार्यले जोखिममा परेको काँडगाउँका स्थानीयले जानकारी दिएका छन्।
यसैगरी विकासका लागि सडक नभई नहुने विकास भए पनि गाउँपालिकाले बस्ती जोगाउनेतर्फ ध्यान नदिँदा समस्या देखिएको स्थानीयको भनाइ छ। सडक निर्माण गर्दा भिरालो जमिनमा रहेका बस्तीलाई सुरक्षित राख्नेतर्फ प्राविधिक रूपमा ध्यान जान नसक्दा उक्त बस्तीहरुमा कुनै पनि बेला पहिरो जान सक्ने सम्भावना बढी देखिएको छ। विकासले विनाश निम्त्याएको स्थानीयको गुनासो रहेको छ।
यसैगरी काँडाजिमानामा रहेका बस्तीमा जथाभावी सडक निर्माण कार्यले पहिरो जान सुरु भइसकेको गुनासो गर्दै सडक निर्माण भइसकेकाले अब बस्ती स्तान्तरणतर्फ गाउँपालिका र प्रदेश सरकारले ध्यान दिनुपर्ने त्यहाँको स्थानीयले माग गरेका छन्।
जिमाना गाउँका एक स्थानीयले बढी हावाहुरी लागेका बेला भिरालो जमिनबाट माटो र ढुंगा आफैँ खस्ने गरेको जानकारी दिएका छन्। विकासका नाममा जथाभावी प्राविधिक मुल्याङकन बिना नै खनिएको सडकको कारण भोलि हुन सक्ने जोखिमलाई बेलैमा सरोकारवाला पक्षले ध्यान दिनुपर्ने उनले सुझाव दिएका छन्।