काठमाडौं। नेपाल हेभी इक्विपमेन्ट मेकानिकल व्यवसायी संघको वार्षिक साधारण सभा सम्पन्न भएको छ। २०७७ माघ २५ गते गठन भएको संघको गत शनिबार प्रथम वार्षिक साधारण सभा सम्पन्न गरिएको हो।
साधारण सभालाई सम्बोधन गर्दै नेकपा एमालेका युवा नेता तथा पूर्व उद्योग मन्त्री महेश बस्नेतले विकास प्रक्रियामा ढिलो हिँडेका कारण नै नेपालमा हेभी इक्विपमेन्ट व्यवसायीहरु पनि संगठित हुन ढिलाई भएको बताएका छन्।
उनले २० वर्ष भन्दा पहिले र अहिलेको हेभी इक्विपमेन्टको भाडामा घटबड नभएको समेत बताए।
नेपाल हेभी इक्विपमेन्ट व्यवसायी महासंघका अध्यक्ष प्रेमलाल श्रेष्ठले हेभी इक्विपमेन्टको क्षेत्रमा कार्यरत व्यवसायीका साथै मेकानिक्स, पार्ट्स व्यवसायी सबैलाई समेटेर महासंघ अगाडि बढ्ने तयारी गरिरहेको बताए।
नेपाल निर्माण व्यवसायी महासंघका उपाध्यक्ष अनिल दोर्जे लामाले पहिले अटो मेकानिक्सले मात्र मर्मत कार्य गरिरहेकोमा अब देशभर मेसिन समेत बढ्दै जादा यो क्षेत्रमा छुट्टै मेकानिक्सको आवश्यकता भएको र त्यही अनुसार तयारी गर्नु परेको बताए।
विभिन्न निर्माण क्षेत्रमा प्रयोग हुने एस्काभेटर, ब्याकहो लोडर, रोलर, कम्प्याक्टर आदि हेभी इक्विपमेन्टको मर्मत कार्यमा संलग्न व्यवसायीद्वारा गत वर्ष संघ गठन गरिएको थियो।