काठमाडौं । सरकारले भारतीय प्रसारण लाइन हुँदै बंगलादेशमा ४० मेगावाट विद्युत् निर्यात गर्न सुरु गरेको छ । गत १८ कात्तिकमा पहिलोपटक १२ घण्टाका लागि भारतीय प्रसारण लाइन हुँदै बंगलादेश विद्युत् निर्यात गरेको प्राधिकरणले आइतबारदेखि पुनः ४० मेगावाट विद्युत् निर्यात सुरु गरेको हो ।
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले बंगलादेशसँगको विद्युत् व्यापारबाट पाँच महिनामा रु एक अर्ब २५ करोड बराबर आम्दानी हुने बताएका छन् । यस वर्ष नेपालबाट बंगलादेश विद्युत् निर्यात सुरु भएको अवसरमा ऊर्जा मन्त्रालयमा भएको पत्रकार सम्मेलनमा मन्त्री खड्काले नेपालबाट बंगलादेश दैनिक ४० मेगावाट विद्युत् निर्यात गरेर मासिक २५ करोड बराबर र पाँच महिनामा रु एक अर्ब २५ करोड बराबर आम्दानी हुने बताए ।
गत वर्षको असोज १७ गते नेपाल विद्युत् प्राधिकरण, बङ्गलादेश पावर डेभलपमेन्ट बोर्ड र एनटिपिसी विद्युत् व्यापार निगम लिमिटेड भारतबीच विद्युत् बिक्री सम्झौतामा हस्ताक्षर भएसँगै अघिल्लो ‘सिजन’को अन्तिम दिन अर्थात् कात्तिक ३० गते दिउँसो १२ बजेदेखि राति १२ बजेसम्म विद्युत् निर्यात भएको थियो ।
ऊर्जामन्त्री खड्काले वर्षायाममा नेपाललाई बढी भएको विद्युत् छिमेकी मुलुक भारतसँगै बङ्गलादेशमा निर्यात गर्दा नेपालको समृद्धिमा सहयोग पुगेको बताए । गत वर्षदेखि नेपालले विद्युत् आयातभन्दा निर्यात धेरै गर्दै आएको मन्त्री खड्काको भनाइ थियो ।
उनले मुलुकको दिगो आर्थिक विकासका लागि ऊर्जा क्षेत्र भरपर्दो माध्यम भएकाले यस क्षेत्रमा सरकारले अझ बढी ध्यान दिएर काम गर्दै आएको बताए । “सरकारले आन्तरिक विद्युत् खपतलाई भरपर्दो र सुरक्षित बनाउने गरी काम गरिरहेको छ,” मन्त्री खड्काले भने।