काठमाडौं । म्याग्दी जिल्लामा निर्माण सम्पन्न भएको ६ मेगावाट क्षमताको रेलेखोला जलविद्युत् आयोजनाबाट उत्पादित विद्युत् राष्ट्रिय प्रसारणमा जोडिएको छ ।
अन्नपूर्ण गाउँपालिका–४ नारच्याङको लेकगाउँमा निर्माण भएको आयोजनाको निर्माण सकेर विद्युत् उत्पादनका लागि आन्तरिक परीक्षण सफल भएपछि विद्युत् उत्पादन सुरु गरेको हो ।
आयोजनाले विद्युत्गृहमा जडान गरेका मेसिन उपकरण र उत्पादित विद्युत्लाई राष्ट्रिय प्रसारणमा जोड्ने प्रसारण लाइनको परीक्षण सफल भएसँगै आयोजनाबाट उत्पादित विद्युत्लाई राष्ट्रिय प्रसारणमा जोडिएको हो। विद्युत् विकास बोर्ड र नेपाल विद्युत् प्राधिकरणका प्रतिनिधि तथा निर्माण कम्पनीका प्राविधिकद्वारा विद्युत्गृहमा टर्वाइनलगायत उपकरणमा विद्युत् उत्पादनको परीक्षण गरी कालीगण्डकी करिडोर प्रसारण लाइनअन्तर्गत दाना सबस्टेशनमार्फत राष्ट्रिय प्रसारणमा जोडिएको हो ।
आयोजनाबाट उत्पादित विद्युत् करिब २० दिनका लागि परीक्षणको रूपमा रहने छ । परीक्षण अवधिमा प्राविधिक समस्या नदेखिए व्यावसायिक रूपमा विद्युत् उत्पादन सुरु हुने आयोजनाले जनाएको छ । विसं २०७७ देखि नै नारच्याङको बेँसीगाउँबाट पहुँचमार्गका लागि सडक खन्न सुरु गरेको यस आयोजनाले २०७९ सालदेखि आयोजनाको भौतिक पूर्वाधार निर्माण सुरु गरेको थियो ।