काठमाडौं । जापान अन्तरराष्ट्रिय सहयोग नियोग (जाइका) नेपाल प्रमुखको टोलीले आज १४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाको स्थलगत अनुगमन गरेको छ ।
तनहुँको ऋषिङ गाउँपालिका–१ झापुटारमा निर्माणाधीन आयोजनाको जाइका नेपाल कार्यालयका प्रमुख मात्सुजाकी मिजुकी नेतृत्वको टोलीले स्थलगत निरीक्षण गरेको हो ।
टोलीले आयोजनाको हालसम्मको प्रगतिबारे जानकारी समेत लिएको छ । टोलीले आयोजना प्रमुख, आयोजना सुपरीवेक्षण परामर्शदाताका प्रमुखलगायतसँग छलफल पनि गरेको छ ।
अनुगमन टोलीलाई आयोजना प्रमुख श्यामजी भण्डारीले हालसम्मका प्रगतिबारे जानकारी गराए। आयोजनाको तीन वटा प्याकेजमा काम भइरहेको छ । भण्डारीका अनुसार प्याकेज एक अन्तर्गत बाँध निर्माणमा ४२.५ प्रतिशत, प्याकेज दुई अन्तर्गत भूमिगत विद्युत्गृहमा ६७ र प्याकेज तीन अन्तर्गत प्रसारण लाइन निर्माणमा ७४ प्रतिशत प्रगति भएको छ ।
आयोजनाको समग्र निर्माण विसं २०८३ असारभित्र सक्ने लक्ष्य राखिएको छ ।