काठमाडौं । सरकारले संखुवासभाको भोटखोला गाउँपालिका–४ मा रहेको धार्मिक स्थल वरुण नदीमा बिजुली उत्पादन गर्ने अनुमति दिएपछि स्थानीयले विरोध गरेका छन् । ३० हजार धार्मिक पर्यटक नुहाउन र पूजा गर्न आउने नदीमा विद्युत उत्पादन गर्न नदिने स्थानीयको भनाइ छ ।
शुक्रवार स्थानीयले पत्रकार सम्मेलन गरेर सांस्कृतिक धरोहरमा आँच आउने र संरक्षित क्षेत्र विनाश हुने भएकाले वरुणमा विद्युत उत्पादन सम्भव नभएको बताएका हुन् ।
यो स्थान मकालु वरुण राष्ट्रिय निकुञ्ज क्षेत्रमा पर्छ । वरुणमा एम्पिक इनर्जी प्रालिले विद्युत उत्पादन गर्ने अनुमति लिएको छ । यहाँबाट १ सय ३२ मेगावाट बिजुली उत्पादन गर्ने लक्ष्य राखिएको छ ।
यहाँबाट विद्युत् निकाल्न नदिन गाउँपालिकाले समेत २०८० जेठ ३१ मा विद्युत् प्राधिकरण र संखुवासभाका सांसदहरुलाई पत्राचार गरेर जानकारी गराइसकेको छ ।