काठमाडौं। गण्डकी प्रदेशको लाइफलाइन मानिएको बेनी–जोमसोम–कोरला सडकखण्ड दैनिक १० घण्टा बन्द गरिने भएको छ। सडकलाई स्तरोन्नति गर्न दैनिक १० घण्टा बन्द गरिने भएको हो।
जिल्ला प्रहरी कार्यालय म्याग्दीका अनुसार नियमित सडक सञ्चालन गर्दा विस्तारमा समस्या भएपछि आज बिहानदेखि अर्को सूचना जारी नहुदाँसम्म सवारी साधन बन्द र काम गर्ने गरी बिहान तथा दिउँसो गरी दैनिक १० घण्टा सडक बन्द हुने भएको हो।
सडक स्तरोन्नतिका लागि मुस्ताङको सिमानामा पर्ने म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ दानाको काभ्रेभीरमा मर्मत र सवारीसाधन एकसाथ आवतजावत गर्न नसक्ने र सडकबाट हुने जोखिमलाई मध्यनजर गर्दै बन्द गरिएको प्रहरी नायब उपरीक्षक श्यामकुमार राईले बताए।
उनका अनुसार दैनिक बिहान ७ देखि ११ बजेसम्म तथा दिउँसो १ देखि ५ बजेसम्म सवारीसाधन सञ्चालन रोकेर सडक स्तरोन्नतिको काम गरिनेछ। त्यस्तै बेलुकी ७ देखि बिहान ७ बजेसम्म र दिउँसो ११ देखि १ बजेसम्म बाटो खुला रहनेछ।
काभ्रेभिर बेनी–जोमसोम सडकको जोखिमयुक्त सडक पनि हो। हरेक वर्ष नेपाली सेनाको सहयोगमा विस्फोटक पदार्थको प्रयोग गरी सडक चौडा गर्ने कामसमेत हुँदै आएको छ।