काठमाडौं। अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेञ्ज कर्पोरेसनले नेपाल कम्प्याक्टको कार्यान्वयनलाई निरन्तरता दिने भएको छ । बुधवार मिलेनियम च्यालेञ्ज एकाउण्ट– नेपालले एक विज्ञप्ति जारी गर्दै अमेरिकाले नेपालमा एमसीसी सहयोगलाई निरन्तरता दिने निर्णय गरेको जानकारी गराएको हो ।
एमसीए– नेपालले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘अमेरिकी वैदेशिक सहयोगमा लगाइएको स्थगनका सन्दर्भमा विशेष छुट अन्तर्गत एमसीसी नेपाल कम्प्याक्टको कार्यान्वयनलाई निरन्तरता दिनका लागि अनुमति दिनेसम्बन्धमा अमेरिकी सरकारबाट भएको निर्णयको एमसीए– नेपालले स्वागत गरेको छ।’
यसअघि अमेरिकाले वैदेशिक सहायताबारे पुनस्मूल्यांकन गरिरहेकै अवस्थामा गत मार्चमा एमसीसीले नेपाललाई पत्र लेखी केही महत्वपूर्ण खरिद तथा कार्यालय सञ्चालन सम्बन्धी आवश्यक कार्यहरू गर्न अनुमति दिएको थियो । त्यसअनुसार एमसीसीले नेपालमा सञ्चलनमा रहेका परियोजनाको कार्यान्वयनलाई निरन्तरता दिई नै रहेको छ ।