काठमाडौं। नेपाल आयल निगमले ७५ करोड लागतमा पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा इन्धन डिपो खोलेको छ । निगमले विमानस्थल परिसरमा ९ हजार २ सय १५ वर्गमिटर क्षेत्रफलको जग्गा नागरिक उड्डयन प्राधिकरणसँग लिजमा लिएर अत्याधुनिक प्रविधि जडित हवाई इन्धन डिपो निर्माण गरेको हो ।
यहाँ १ हजार २ सय किलोलिटर क्षमताको ३ वटा ठूला भण्डारण गृह निर्माण गरिएको छ । भर्टिकल स्टोरेज ट्यांकको उचाइ १२ मिटर र ब्यास पनि १२ मिटर छ ।
त्यस्तै डिपो सुरक्षामा उच्च सतर्कता अपनाउन १ हजार २ सय किलोलिटर क्षमताको अलग्गै पानी ट्यांकी निर्माण सम्पन्न गरिएको छ । उक्त पानी ट्यांकीसँग डिपोको वरिपरि जडान गरिएको फायर फाइटिङ संरचन आबद्ध गरिएको छ ।
२०७७ साल चैत २ गते हवाई इन्धन डिपो निर्माणका लागि सार्वजनिक खरिद ऐन अनुसार बोलपत्र आह्वान भएको इन्धन डिपोको निर्माण कार्य १ साउन २०८० मा शिलान्यास भएपछि सुरु भएको थियो ।