रसुवा । सोमवार राति आएको बाढीका कारण रसुवामा ठूलो धनजनको क्षति भएको छ ।
भोटेकोसी नदीमा आएको बाढीमा परी अहिलेसम्म ३ जना प्रहरी, ६ जना चिनियाँ नागरिकसहित १८ जना बेपत्ता भएका छन् भने ९ जनाको उद्धार गरिएको छ ।
बाढीले रसुवागढी जलविद्युत् आयोजनासहित ४ वटा विद्युत् आयोजनामा क्षति पुगेको छ । १ सय ११ मेगावाट क्षमताको रसुवागढी जलविद्युत् आयोजनामा बाढीले क्षति पु¥याउँदा त्यहाँबाट उत्पादन हुने १ सय ११ मेगावाट जलविद्युत् अहिले पूर्णरुपमा ठप्प भएको छ ।
६० मेगावाट क्षमताको त्रिशूली–३ ‘ए’, २१ मेगावाट क्षमताको त्रिशूली र १५ मेगावाट क्षमताको बेनीघाट जलविद्युत् आयोजनामा पनि क्षति पुगेको छ । बाढीले गरेको क्षतिको कारण आजबाट २ सय मेगावाट क्षमताको प्रशारण लाइन पूर्णरुपमा अवरुद्ध भएको नेपाल विद्युत प्राधिकरणले जनाएको छ ।