म्याग्दी । २२० केभी क्षमताको चिमखोला–राहुघाट प्रशारण लाइनको परीक्षण सुरु गरिएको छ । म्याग्दीको राहुघाट वेशिनका जलविद्युत आयोजनाबाट उत्पादित विद्युतलाई केन्द्रीय प्रणालीमा आवद्ध गराउन निर्माण भएको चिमखोलादेखि गलेश्वरस्थित राहुघाट जलविद्युत आयोजनाको स्विचयार्ड सम्म १३ किलोमिटर लामो निर्माण भएको प्रशारण लाइनको परीक्षण कार्य सुरु भएको हो ।
पैतीस मेगावाट क्षमताको चिमखोला–मंगले राहुघाट, ४८.५ मेगावाट क्षमताको माथिल्लो राहुघाट, २१.३ मेगावाटको ठूलोखोला र २३.५ मेगावाट क्षमताको माथिल्लो ठूलोखोला जलविद्युत आयोजनाको विद्युतलाई केन्द्रीय प्रणालीमा आवद्ध गराउन उक्त प्रशारण लाइन निर्माण भएको हो ।
नेपाल विद्युत प्राधिकरण मार्फत रघुगङ्गा –३ अम्बाङमा निर्माणाधिन सवस्टेशन सम्पन्न नहुँदा सम्मको लागि अस्थायी रुपमा राहुघाटको स्विचयार्डबाट २२० केभी क्षमताको दाना–खुर्कोट प्रशारण लाइन मार्फत केन्द्रीय प्रणालीमा विद्युत पठाउन लागिएको छ ।
चिमखोला–मंगले राहुघाट र ठूलोखोला जलविद्युत आयोजनाको बाँध, सुरुङ, पेनस्टक पाइप लगायत भौतिक संरचना र विद्युतगृहका उपकरणको केन्द्रीय भइसकेको छ । माथिल्लो राहुघाट र माथिल्लो ठूलोखोला निर्माणको अन्तिम चरणमा छन् ।
चिमखोलादेखि गलेश्वर स्थित राहुघाटको स्विचयार्ड जोड्ने प्रशारण लाइनमा विद्युत आपुर्ति गराएर परिक्षण गराउन थालिएको छ । परिक्षण लगत्तै केन्द्रिय प्रणालीमा विद्युत जोडिने छ। चिमखोला देखि राहुघाटसम्म ३९ टावर छन् ।