सुर्खेत । उच्च अदालतको फैसलासँगै कोहलपुर–सुर्खेत प्रसारण लाइन विस्तारको अवरोध हटेको छ । अदालतको फैसलासँगै बाँकेको कोहलपुरबाट कर्णाली प्रदेशको राजधानी सुर्खेतमा १३२ केभी विद्युत् प्रसारण लाइन विस्तारको अवरोध हटेको हो ।
बाँकेको बैजनाथ गाउँपालिकाको वडा नं १ गाभर र वडा नं ४ को बानियाँभारमा लाइन विस्तारका क्रममा उत्पन्न अवरोध न्यायालयको निर्णयपछि हटेकाले लाइन विस्तार गर्न सहज भएको मुख्यमन्त्री यामलाल कँडेलले बताए ।
आयोजनाको काम ६ महिनाभित्र पूरा गर्नेगरी अहिले काम अघि बढाइएको छ । वीरेन्द्रनगर नगरपालिका–११ सुब्बाकुनाको विवाद पनि समाधान भएको छ ।
हालसम्म आयोजनाको ९५ प्रतिशत प्रगति हासिल भएको छ । सत्तरी करोड लागतको उक्त आयोजनाअन्तर्गत धमाधम रूख कटान भइरहेको छ । हालसम्म पाँच हजार रूख काटिएका छनभने अझै पाँच हजार पाँच सय रूख काट्नुपर्नेछ ।