म्याग्दी । म्याग्दीमा निर्माणाधीन ४० मेगावाट क्षमताको राहुघाट जलविद्युत् आयोजनाको सिभिल ठेक्काको म्याद फेरि थपिएको छ । नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी रघुगङ्गा हाइड्रोपावर प्रवर्द्धक रहेको आयोजनाको म्याद तेस्रो पटक थपिएको हो ।
२०१७ नोभेम्बर १७ मा ४५ महिनामा सम्पन्न गर्ने गरी भारतीय सिभिल ठेकेदार कम्पनी जयप्रकाश एसोशियट्स (जेपी)ले छ अर्बमा ठेक्का सम्झौता गरेको थियो । सन् २०२२ फेब्रुअरीमा दोस्रो पटक थपिएको म्याद गत जुन २७ मा सकिएको थियो ।
हालसम्म ९० प्रतिशत भौतिक प्रगति भएको राहुघाटको सिभिल ठेकेदारसँगको सम्झौताको म्याद तेस्रो पटक २०२५ नोबेम्बर २७ सम्म थपिएको रघुगङ्गा हाइड्रोपावरले जनाएको छ ।
ठेकेदारले सन् २०२५ डिसेम्बर ३१ सम्म म्याद थपको प्रस्ताव गरेको थियो । परामर्शदाता ‘वाकफोस’को सिफारिसअनुसार चार महिनामात्र म्याद थपिएको हो । कोरोना महामारी, बाढीपहिरोजस्ता प्राकृतिक विपद् र नदीजन्य निर्माण सामग्रीको अभावलाई ठेकेदारले आयोजना निर्माणमा ढिलाइ हुनुको कारण देखाएको छ ।