लमजुङ । लमजुङस्थित ७० मेगावाटको मध्यमर्स्याङ्दी जलविद्युत् केन्द्रको खाली जग्गामा १ दशमलव ६ मेगावाटको सोलार ऊर्जा उत्पादन गरिने भएको छ ।
मध्यमर्स्याङ्दी जलविद्युत् केन्द्रका ड्यामको पूर्वपट्टी बेंसीसहर नगरपालिका–११, चितीस्थित बरबोट शेराको उक्त जग्गामा जमिन प्रयोग गरी पिक क्षमताको ग्राउन्ड माउन्टेड ग्रिड जडित सौर्य ऊर्जा उत्पादन केन्द्र निर्माण गरिन लागेको हो ।
जर्मन सरकारको आर्थिक अनुदान सहयोगमा जर्मन विकास बैंक (केएफडब्ल्यू) को माध्यमबाट कार्यान्वयनमा ल्याइएको ‘ग्राउन्ड माउन्टेड ग्रिड कनेक्टेड सोलार पीभी प्रोजेक्ट’को शुक्रबार नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्य, जर्मन दूतावास काठमाडौंका विकास सहयोग प्रमुख डा. बेन्जामिन साइडेल, बेंसीसहर नगरपालिका प्रमुख गुमानसिंह अर्याल, बंगलादेश तथा नेपालका लागि केएफडब्ल्यू कार्यालयका निर्देशक माइकल सुमसरलगायतले सिलान्यास गरे । उक्त अवसरमा नेपालस्थित केएफडब्ल्यूका कार्यालय प्रमुख निरज सुवेदी, नेपाल विद्युत् प्राधिकरणका अधिकारीहरु, जनप्रतिनिधिलगायतको उपस्थिति थियो ।
जर्मन सरकारको आर्थिक अनुदानमा लुम्बिनी प्रदेशको नवलपरासी गण्डक सुरजपुरामा ५ दशमलव ८ मेगावाट र कर्णाली प्रदेशको सुर्खेत झुप्रामा २ मेगावाटको सौर्य ऊर्जा आयोजना सुरु भएको छ । कुलेखानीको मार्खुमा उर्जा सौर्य उर्जा उत्पादनका लागि अध्ययन भइरहेको छ । ग्राउन्ड माउन्टेड ग्रिड जडित सौर्य उर्जा परियोजनाका लागि जर्मन सरकारले ८ मिलियन युरो बराबरको अनुदान उपलब्ध गराएको छ । इकान्तिपुरबाट