काठमाडौं। घोराही–तुलसीपुरको चार लेन सडक निर्माण कार्यमा भएको ढिलाइले दैनिक यात्रा कष्टकर बनेको छ। सडक निर्माण कार्यको ढिलाइले घोराही–तुलसीपुर यात्रा सकस र जोखिमपूर्ण बन्दै गएको हो।
यात्रा गर्न सहज होस् भन्ने उद्देश्यले लमही–तुलसीपुर सडकलाई चार लेन बनाउने गरी पहिलो चरणमा घोराहीको बबई नदीदेखि तुलसीपुरसम्मको सडक विस्तार सुरु गरिएको थियो। चार लेन सडक विस्तार गर्ने काम २०७५ सालदेखि सुरु गरिएको भएतापनि पटक–पटक थपिएको म्यादभित्र पनि सडक निर्माणको काम नसकिदा सर्वसाधारणले सास्ती भोग्नु परेको छ। अहिलेसम्म करिब ७ प्रतिशतमात्र सडक निर्माणको काम भएको छ।
सुरुमा कोरोनाको कारण देखाउँदै र विद्युतका पोल, रुख हटाउन भन्दै १४५ दिन म्याद थपियो। थपिएको म्याद अनुसार २०७९ असार ५ मा काम सक्नुपर्ने छ। तर अहिलेसम्म काम सुरु नभएकाले थपिएको म्यादमा पनि काम सकिनेमा शंका छ।
सडकमा खाल्डाखुल्डी बढी भएका कारणले यात्रा गर्न निकै समस्या भएको छ। स्थानीयका अनुसार कतै खाल्डाखुल्डी त कतै धुलो भएको कारणले पैदल यात्रा गर्न पनि निकै समस्या भएको छ। निर्माणाधीन अवस्थामा सडक अलपत्र छोडिएपछि सवारी दुर्घटनाको जोखिम पनि बढ्दै गएको छ।